शहीद तथा योद्धाको जीवनी प्रकाशित

मुख्य समाचार राजनीति समाचार

चितवन | ३० भदौ : बिपी चिन्तन प्रतिष्ठान चितवनले अग्रजको सङ्क्षिप्त जीवनी प्रकाशित गरेको छ । पुस्तकमा २००७ देखि २०४६ सालसम्म प्रजातन्त्र स्थापनाका लागि नेपाली काङ्ग्रेसको नेतृत्वमा भएका आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका ११३ जना योद्धा र शहीदको जीवनी समेटिएका छन् ।

आज यहाँ आयोजित एक समारोहबीच पुस्तकको विमोचन गर्दै नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीमा कार्यकर्तालाई सम्मान दिन आफू लागिपरेको बताउनुभयो । गुट–उपगुटले काङ्ग्रेस समाप्त हुने उल्लेख गर्दै उहाँले त्यसको अन्त्य गर्नुपर्दछ भन्नुभयो ।

महामन्त्री डा कोइरालाले पार्टीलाई कसरी पुरानो अवस्थामा पु¥याउने भन्ने चिन्ता भएको बताउँदै गुट–उपगुटको अन्त्य भएपछि पार्टी पूर्ववत् अवस्थामा आउने र त्यसका लागि आफू लागिपरेको विचार व्यक्त गर्नुभयो । पार्टीलाई विकेन्द्रीकरण गर्नुपर्नेमा जोड दिदैं उहाँले केन्द्रमा रहेको अधिकार विभाजन गरी योजनाबद्धरुपमा अघि बढ्नुपर्ने अवस्था आएको बताउनुभयो । नेपाली काङ्ग्रेसका नेता कुलबहादुर गुरुङले सङ्गठन, सिद्धान्त र आदर्शलाई महत्व नदिँदा काङ्ग्रेस कमजोर बनेको धारणा व्यक्त गर्नुभयो ।

नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्वसभापति कृष्णलाल सापकोटा, शेषनाथ अधिकारी, नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष उमा रेग्मी, केशवभक्त सापकोटालगायतले नेपाली काङ्ग्रेसको आह्वानमा भएका आन्दोलनको स्मरण गर्दै पार्टीलाई एक ढिक्का बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पुस्तकमा समेटिएका शहीद, बेपत्ता तथा योद्धाको परिवारलाई सम्मान गरिएको थियो । विमोचन गरिएको पुस्तक चार सय पेजको छ । प्रतिष्ठानका अध्यक्ष डा एकनारायण पौडेलले २७ महिना लगाएर पुस्तक प्रकाशन गरिएको जानकारी दिनुभयो । उहाँले जिल्लामा पहिलो पटक यस्तो पुस्तक प्रकाशन गरिएको जानकारी दिनुभयो ।

Facebook Comments Box