बन्दाबन्दीका बेला आकस्मिक रुपमा अस्पताल जानुपर्ने तीन नगरपालिका र काठमाडौँ महानगरपालिकाको एक वडाका बिरामीका लागि एम्बुलेन्सको व्यवस्था गरिएको छ । राजधानीको उत्तरपूर्वी भेगका शङ्खरापुर, कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिका एवं काठमाडौँ महानगरपालिकाको वडा नं. ३२ का आकस्मिक रुपमा अस्पताल जानुपर्ने बिरामीका लागि मूलपानी प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरिएको हो । इलाका प्रशासन कार्यालय साँखुका प्रमुखको अध्यक्षतामा रहेको क्वारेन्टाइन व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको जनाइएको छ ।
उच्च रक्तचाप, मधुमेह, मुटु, मिर्गाैला, क्यान्सरलगायत रोगका बिरामी नियमित अस्पतालमा परीक्षणमा जानुपर्नेमा सवारी नपाएको गुनासो आएपछि यस्तो व्यवस्था गरिएको समितिका सदस्य सचिव एवं कागेश्वरी मनोहरा नगरपालिका स्वास्थ्य तथा सरसफाइ शाखा प्रमुख लक्ष्मी कोइरालाले राससलाई जानकारी दिनुभयो । कोरोना भाइरसको लक्षण देखिने बिरामीका लागि पनि यो सेवा उपलब्ध गराइने जनाइएको छ । चैत ११ गतेदेखिको बन्दाबन्दीका कारण राजधानीकै ग्रामीण भेगका बिरामी सवारीको अभावमा अस्पताल जान नसकी घरमै थलिनुपरेको गुनासोपछि यस्तो व्यवस्था गरिएको हो ।
Facebook Comments Box