गजेन्द्रबहादुर खपाङ्गी ‘ईश्वर’
जकार्ता । ईन्डोनेशियामा संचालन १५ औं एशियन प्यासिफिक सितोरियो कराते प्रतियोगितामा नेपाल २ स्वर्ण र ३ कांस्य पदक जित्दै समुह चौथो बन्न सफल भएको छ । नोभेम्बर २१ देखि २४ सम्म संचालन भएको प्रतियोगितामा नेपालको तर्फबाट पुरुष तर्फको सिनियर ५५ किलो तौल समुहमा बिजय श्रेष्ठले स्वर्ण र भेट्रानको ४०—५० बर्षको समुह अन्तर्गत को प्रतिस्पर्धामा एकल काता तर्फ गणेश
थिंगले स्वर्ण पदक जित्न सफल भएका छन् ।

बिजयले पहिलो बाउट बाई पाएर क्वार्टर फाईनलमा ईण्डोनेशियालाई १०—२ ले, सेमिफ़ाइनलमा फिलिपिन्सलाई ९—१ ले र फाईनलमा श्रीलंकालाई ९—१ ले हराउदै स्वर्ण पदक पक्का गरेका थिए । यसैगरी गणेश थिंगले पहिलो बाउट भारतलाई ५—०, क्वार्टरफाईनलमा पुन भारतलाई ६—२ ले र सेमिफ़ाइनलमा श्रीलंकालाई ३—२ ले र फाईनलमा हङकङलाई ५—० ले पराजित गर्दै स्वर्ण पदक आफ्नो पोल्टामा पार्न सफल भएका थिए । त्यसैगरी सिनियर पुरुष तर्फ एकल कातामा सेमिफ़ाइनलमा जापानसँग पराजित हुँदै पर्शुराम बास्तोलाले कांस्य पदक हात पारे । यस अघि उनले हङकङ, श्रीलंका र चाईनिज ताईपेईका खेलाडीलाई पराजित गर्दै सेमिफ़ाइनल प्रवेश गरेका थिए । यस्तै पुरुष तर्फको ८४ किलो तौल समुहमा दिगम्बर प्रसाद पन्तले सेमिफ़ाइनलमा ईण्डोनेशिया सँग ५—१ ले पराजित हुँदै कांस्य पदक जित्न सफल भए । यस अघि उनले फिलिपिन्सलाई ५—१ र सिंगापुरलाई ८—० ले पराजित गर्दै सेमिफ़ाइनलमा प्रबेश गरेका थिए । त्यसैगरी अनिश लामाले ६० किलो तौलमा नेपाललाई कास्य दिलाए ।
३० राष्ट्र सहभागी भएको उक्त प्रतियोगितामा ईण्डोनेशियाले १७ स्वर्ण, १२ रजत र १५ कास्य पदक सहित पहिलो स्थान हाशिल गर्न सफल भए भने जापानले १६ स्वर्ण ३ रजत र २ कांस्य सहित दोस्रो र ७ स्वर्ण १३ रजत र ११ कांस्य सहित चाईनिज ताईपेई तेस्रो स्थान हाशिल गरेका छन् । प्रतियोगितामा २ स्वर्ण र ३ कांस्य सहित नेपाल समुह चौथो बन्न सफल भयो । बिगत ४० बर्ष देखि संचालन हुदै आएको यस प्रतियोगितामा नेपाल चौथो स्थान रहँदै पहिलो एेतिहाशिक सफलता प्राप्त गरेको हो ।
प्रतियोगितामा नेपाल कराते महासंघ तथा नेपाल सितोरियो करातेसंघका अध्यक्ष दावा गुरुंगको नेतृत्वमा ११ खेलाडी ४० प्रशिक्षक र निर्णायकहरुको समुह सहभागी भएका थिए ।
Facebook Comments Box