मेसिले जिताए अर्जेन्टिनालाई कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि

खेलकुद

एजेन्सी । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । माराकाना रंगशालामा पहिलो हाफको २२ औं मिनेटमा एन्जल डि मारियाले निर्णायक गोल गर्दा आयोजक ब्राजिललाई हराएर अर्जेन्टिनाले उपाधि जितेको हो ।

अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका जितेको हो, पछिल्लोपटक १९९३ मा उसले यो उपाधि जितेको थियो । त्यसयता, अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिना उपाधि विहिन थियो ।

त्यस्तै, कप्तान लियोनल मेसीले देशबाट जितेको यो पहिलो प्रमुख उपाधि हो । मेसीको कप्तानीमा २०१४ को विश्वकप, २०१५ र २०१६ को कोपा अमेरिकामा अर्जेन्टिनाले फाइनल यात्रा गरेको थियो । तर उपाधि जित्न असफल रह्यो । मेसीले यसअघि ओलम्पिकमा स्वर्ण जितेका थिए, त्यसलाई अन्तर्राष्ट्रिय फुटबलमा प्रमुख प्रतियोगिता मानिँदैन ।

वर्तमान विश्वका उत्कृष्ट खेलाडीबारे कुराकानी गर्दा अर्जेन्टिनाका लियोनल मेसीसँगै पोर्चुगलका क्रिष्ट्रियानो रोनाल्डोको नाम चर्चामा आउँछ । उनीहरुसँगै नेइमारको नाम पनि जोडिन्छ । ब्राजिलका महान् फुटबलर पेलेसहित कतिपयले नेइमार नै उत्कृष्ट रहेको दाबी पनि बेला–बेलामा गर्ने गरेका छन् । मेसीले देशलाई अन्तर्राष्ट्रिय उपाधि जिताउन नसक्दा उनको ठूलो आलोचना हुने गरेको थियो । २००८ को बेइजिङ ओलम्पिकमा स्वर्ण जितेका मेसीले आइतबार कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि जिताउँदै आलोचकहरुको मुख बन्द गरेका छन् ।

ठिक, यहींनेर नेइमारको सपनामा धक्का लाग्यो । ठूला प्रतियोगिताको उपाधि उचाल्ने उनको सपना पूरा हुन सकेन । नेइमारले ब्राजिलबाट कन्फेडेरेशन कप र ओलम्पिक स्वर्ण जितेका छन् । तर, यी दुबै प्रतियोगितालाई ठूलो प्रतियोगिता मानिँदैन ।

नेइमारको उत्कृष्ट प्रदर्शनमा ब्राजिलले घरेलु मैदानमै आयोजित २०१४ को विश्वकपको सेमिफाइनल यात्रा गरेको थियो । तर घाइते भएकाले उनले सेमिफाइनल खेल्न पाएनन्, जहाँ जर्मनीले घरेलु टोलीलाई ७–१ ले हरायो ।

२०१८ को विश्वकपमा नेइमारको ब्राजिल बेल्जियमसँग क्वाटरफाइनलमा पराजित हुँदै बाहिरियो । २०१९ मा ब्राजिलले कोपा अमेरिका जितेको थियो, तर यतिबेला चोटका कारण नेइमार टोलीमा थिएनन् ।

Facebook Comments Box