दमक, २ पुस । भूटानी शरणार्थी शिविरमा अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता आजदेखि शुरु भएको छ । प्रतियोगितामा नेपाल, भारत र भूटानका गरी १५५ खेलाडी सहभागी छन् । विभिन्न १३ तौल समूहमा महिला र पुरुष खेलाडीले प्रतिष्पर्धा गरिरहेका छन् । आजको खेलमा भूटानले १३, नेपालले १० र भारतले एउटा स्वर्ण पदक जितेको छ । प्रतियोगितामा विश्व कराँते फेडरेशन, एशियाली कराँते फेडरेशन, नेपाल कराँते फेडरेशनका वरिष्ठ प्रशिक्षक र निर्णायक सहभागी रहेको प्रशिक्षक डम्बर मुखियाले जानकारी दिनुभयो ।
सहयोग जुटाउन महापुराण
दमकस्थित ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालले अक्षयकोषमा सहयोग जुटाउने उद्देश्यले आजदेखि श्रीमद् भागवत महापुराण शुरु गरेको छ । महापुराणको आज दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारीले उद्घाटन गर्नुभयो । प्रतिष्ठानले स्थापना गरेको रु एक करोडको अक्षयकोषमा थप रकम जुटाउन महापुराण शुरु गरिएको पुराण आयोजक समितिका संयोजक वाइएन चम्लागार्इंले जानकारी दिनुभयो । यसअघि चार पुराण सम्पन्न भएको छ । पुराणबाट अक्षयकोषमा रु ८३ लाख जम्मा भएको प्रतिष्ठानका अध्यक्ष सीताराम खतिवडाले बताउनुभयो ।
सेतो साडी’ सार्वजनिक
काठमाडौँ, २ पुस । झण्डै १० वर्ष विदेशमा श्रम गरेका सर्जक जीतेन्द्र बानियाँको म्युजिक भिडियो ‘सेतो साडी’ मा आज सार्वजनिक गरिएको छ । विदेशमा श्रम गर्न बाध्य नेपाली र उनीहरुमा आश्रित परिवारको कथा व्यथा समेटिएको सो म्युजिक भिडियो राष्ट्रिय गानका रचनाकार ब्याकुल माइला, वरिष्ठ सङ्गीतकार राजु सिंह, अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष राद्देश्याम लेकालीलगायतले सार्वजनिक गर्नुभएको हो । स्रष्टा ब्याकुल माइलाले गीतले विदेशिएका धेरै नेपालीको पीडा समेटेको उल्लेख गर्नुभयो ।
वरिष्ठ सङ्गीतकार सिंह र अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष लेकालीलेले देश छोड्ने नेपालीको बाध्यता र उनीहरुको परिवारले भोग्नुपरेका पीडालाई गीत र भिडियोमार्फत उकृष्ट ढङ्गले प्रस्तुत गरिएको बताउनुभयो । गीतमा गायक सागर संसार राईको स्वर तथा सङ्गीत संयोजन रहेको छ । राजेश पुमाराईको निर्देशनको भिडियोमा वरिष्ठ कलाकार सुरवीर पण्डित, नायिका सुनिशा बजगाईं र प्रविण केसीको अभिनय हेर्न सकिन्छ । सर्जक बानियाँ १० वर्ष कोरियामा श्रम गरेर फर्किएपछि पुनःगीत सङ्गीत र साहित्यमा सक्रिय हुनुहुन्छ ।