काठमाडौं । कोशी प्रदेशको सुनसरी जिल्लाको इटहरीमा पेन्टाथलोन अन्तर्गत पर्ने लेजर रन प्रतियोगिता सम्पन्न भएको छ । इटहरी रंगशालामा भएको उक्त खेलकुद प्रतियोगिता मोर्डन पेन्टाथलोन फेडेरेसनको आयोजना र कोशी प्रदेश खेलकुद विकास बोर्डको आर्थिक सहयोगमा कोशी प्रदेशले पहिलो पटक आयोजना गरेको हो । प्रदेशस्तरीय भएको पेन्टाथलोन खेलकुद प्रतियोगितामा लुम्बिनी प्रदेश बाहेक कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश गरी ६ वटा प्रदेशबीच प्रतिस्पर्धा गराइएको थियो । विभिन्न उमेर समूहमा खेलिएको पेन्टाथलन लेजर रन खेलकुद प्रतियोगितामा ११ स्वर्ण,१० रजत र ८ वटा कास्य पदक सहीत कोशी प्रदेश प्रथम भएको छ भने ५ स्वर्ण,५ रजत र ८ कास्य पदक सहित बागमती प्रदेश दोस्रो भएको छ । यस्तै १ स्वर्ण सहित गण्डकी प्रदेशले तेस्रो स्थान हात पार्न सफल भएको हो ।
असार १५ र १६ गते इटहरीमा आयोजना भएको लेजर रन प्रतियोगिताको उद्घाटन कोशी प्रदेश सभामुख बाबुराम गौतमले गर्नु भएको थियो । कार्यक्रममा कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले, मोर्डन पेन्टाथलोन संघका केन्द्रीय अध्यक्ष राजेन्द्र श्रेष्ठ, कोसी प्रदेशसभा सदस्य सपना परियार, नविर्तमान उपसभामुख सरस्वती पोखरेल, महासचिव यादव बस्नेत, गण्डकी अध्यक्ष कविता अर्याल, कोसी प्रदेश अध्यक्ष कमलबहादुर विश्वकर्मा (राकेश) लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments Box