भरतपुर, ५ पुस : चितवनमा बागमती प्रदेशस्तरीय सितोरियो कराँतेका दुई सय खेलाडी दीक्षित भएका छन् । भरतपुर कभर्ड हलमा प्रदेशका विभिन्न जिल्लाबाट सहभागी खेलाडीलाई नेपाल सितोरियो कराँते सङ्घ र नेपाल सितोरियो कराँते सङ्घ बागमती प्रदेशले दीक्षित गरेको हो ।
चार दिनसम्म चलेको कार्यक्रममा बागमती प्रदेशका १२ जिल्लाबाट खेलाडी सहभागी थिए । उनीहरुलाई चार दिनको प्रशिक्षणपछि आज दीक्षित गरिएको हो । उनीहरुलाई खेलको नियम, आत्मरक्षासम्बन्धी प्रशिक्षण दिइएको सितोरियो कराँते सङ्घ बागमती प्रदेश अध्यक्ष गगन लामाले जानकारी दिनुभयो ।
खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का मुख्य प्रशिक्षक तुलसीकुमार महर्जनले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणमा सहभागी भएकामध्ये एक सय ७० जना फस्र्ट डन, ६ जना सेकेन्ड डन र नौ जना थर्ड डनमा बढुवा भएका छन् । उनीहरुलाई नेपाल कराँते महासङ्घका केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामा, सितेरियो कराँते सङ्घका केन्द्रीय अध्यक्ष एवं कराँते महासङ्घका महासचिव दावा गुरुङलगायतले दीक्षित गर्नुभएको थियो ।
खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता भरतपुरमा हुने
चितवनमा तेस्रो एभरेष्ट खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । कालिका नगर तेक्वान्दो डोजाङको आयोजनामा यही पुस ७ र ८ गते भरतपुरको कभर्ड हलमा प्रतियोगिता हुन लागेको हो । यसअघि पहिलो र दोस्रो संस्करण काठमाडौँमा भएको थियो । प्रतियोगितामा सातै प्रदेशका विभागीय टोलीको सहभागिता रहने आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।
प्रतियोगितामा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलमा स्वर्णपदक लिएका खेलाडी सहभागी हुन पाउने छैनन् । नयाँ प्रतिभालाई प्रोत्साहन गर्नका लागि उनीहरुलाई खेलमा सहभागी नगराउने निर्णय गरिएको प्रतियोगिताका संयोजक रमेश कार्कीले जानकारी दिनुभयो । दुर्गम जिल्लाका खेलाडीलाई प्रोत्साहन दिँदै अन्तर्राष्ट्रिय प्रतियोगितासम्म पुर्याउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
प्रतियोगितामा २० केजीदेखि ८० केजी तौलसम्मका खेलाडीले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिता तौलका आधारमा सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । ६५ डोजाङको उपस्थिति रहेने प्रतियोगितामा ३७ पदक रहेको उहाँले बताउनुभयो । प्रतियोगितामा फाइटर टपरतर्फ प्रथम पुरस्कार रु एक लाख, द्वितीय पुरस्कार ५० हजार र तृतीय पुरस्कार २५ हजार रहेको छ ।
यस्तै पुम्से तर्फ प्रथम पुरस्कार रु बीस हजार द्वितीय पुरस्कार १० हजार र तृतीय पुरस्कार पाँच हजार तोकिएको छ ।