कास्की, २ भदौ । भारतको जयपुरमा आयोजना गरिएको आठौँ एशियाली युथ च्याम्पियनशिप ह्याण्डबल प्रतियोगितामा सहभागी हुन नेपाली महिला टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ ।
बुधबारदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी हुने नेपाली टोलीका खेलाडी तथा प्रशिक्षकलाई नेपाल ह्याण्डबल सङ्घले एक कार्यक्रम आयोजना गरी बिदाइ गरेको हो । सो अवसरमा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन, प्रदेशसभा सदस्य एवम सङ्घका केन्द्रीय उपाध्यक्ष मोहन रेग्मी, सङ्घका अध्यक्ष तेजबहादुर गुरुङ, पूर्वअध्यक्ष शेरबहादुर गुरुङलगायतले सफलताको कामना गर्नुभएको थियो ।
पन्ध्र वर्षदेखि १८ वर्षमुनिका खेलाडी सहभागी सो युथ च्याम्पियनशिपमा नेपाली टोलीको कप्तानी मोनिका थापाले गर्नुभएको छ । सङ्घका अध्यक्ष गुरुङका अनुसार १० देशका खेलाडीले प्रीतस्पर्धा गर्ने उक्त प्रतियोगितामा नेपालले पहिलोपटक सहभागिता जनाउन लागेको हो । टोलीमा १६ खेलाडी, टिम व्यवस्थापक र प्रशिक्षकसहित २० जना रहेका छन् । नेपालले भदौ ४ गते चीनसँग, ५ गते भारतसँग, ६ गते कजाकस्तान र भदौ ७ गते मङ्गोलियासँग प्रतिष्पर्धा गर्ने टिम व्यवस्थापक शान्ति थापाले जानकारी दिनुभयो । टोलीले दुई साता पोखरामा अभ्यास गरेको थियो ।
असोज दोस्रो साता ‘झापा स्पोर्टस् अवार्ड’
असोज दोस्रो साता ‘तेस्रो झापा स्पोर्टस् अवार्ड’ हुने भएको छ । नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाको आयोजनामा उक्त स्पोर्टस् अवार्ड गर्न लागिएको हो ।
अवार्ड सम्पन्न गर्र्न बुद्ध तामाङलाई संयोजक र सचिन सुब्बालाई सहसंयोजकको जिम्मेवारी दिइएको मञ्चका अध्यक्ष हिमाल खरेलले जानकारी दिनुभयो । मञ्चले दुई वर्षयता स्पोर्टस् अवार्ड गर्दै आएको छ । कार्यक्रममा वर्ष खेलाडी (पुरुष)लाई एक थान मोटरसाइकल, वर्ष खेलाडी (महिला)लाई एक थान स्कुटर तथा वर्ष खेलाडी (युवा), उत्कृष्ट वर्ष प्रशिक्षक र पिपुल्स च्वाइसअन्तर्गत एउटा खेलाडीलाई जनही रु २५ हजार पुरस्कार प्रदान गरिने छ । यस्तै लाइफ टाइम अचिभमेन्ट अवार्डबाट एक जनालाई रु ३५ हजार प्रदान गरिने अध्यक्ष खरेलले बताउनुभयो ।
‘फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेलेँ’
दमौली । “जब मैले बच्चादेखि नै क्रिकेट खेल्न शुरु गरेँ मलाई आज यो अवस्थामा आइपुग्छु भन्ने लागेकै थिएन”, तनहुँको व्यास नगरपालिकाका युवामाझ आफ्नो अनुभव सुनाउँदै नेपाली क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले भन्नुभयो, “सानैदेखि क्रिकेट एकदमै मन पथ्र्यो, क्रिकेट खेल्दाखेल्दै आजको अवस्थामा आइपुगेको हुँ ।”
उपकप्तान मल्लले शुरुआती चरणमा फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेलेको अनुभव सुनाउनुभयो । “आज आफू जुन स्थानमा छु, त्यो सबै सफलता क्रिकेटबाट प्राप्त गरेको हुँ”, उहाँले भन्नुभयो, “जति दिन क्रिकेट खेल्छु, पूर्ण आत्मविश्वासका साथ खेल्छु ।”
व्यास नगरपालिकाले युवा परिषद्का सदस्यका लागि आइतबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उपकप्तान मल्लले परिश्रम र लगावले नै मानिसलाई सफल बनाउने बताउनुभयो । “जो व्यक्तिले परिश्रम गर्छ त्यो व्यक्ति सधँै सफल हुनेमा कुनै द्विविधा छैन”, उहाँले भन्नुभयो । नेपाली क्रिकेट टोलीको सवल पक्षका बारेमा सहभागीले सोधेको प्रश्नको उत्तर दिँदै मल्लले एकता नै नेपाली क्रिकेट टोलीको सवल पक्ष रहेको बताउनुभयो ।
राष्ट्रिय टोलीको कप्तान हुन मन लाग्दैन ? भन्ने प्रश्नको जिज्ञासा मेटाउँदै उपकप्तान मल्लले भन्नुभयो, “त्यस्तो भावना कहिल्यै पनि आएन, सधैँ एउटाले मात्रै पद लिएर बस्ने होइन, बरु अरु साथिलाई त्यो स्थानसम्म पु¥याउन पाए मलाई खुशी लाग्छ ।”
कार्यक्रममा राष्ट्रिय महिला धावक मिरा राईलेसमेत आफ्नो अनुभव सुनाउनुभएको थियो । गरीब परिवारमा जन्मिएर पूर्व लडाकु हुँदै दौडमार्फत नेपालको नाम विश्वमाझ चिनाउन पाउँदा आफूलाई गर्व लाग्ने गरेको उहाँको भनाइ थियो । परिषद्का ४० सदस्य सहभागी उक्त अभिमुखीकरण कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त, कान्तिपुर टेलिभिजनका कार्यक्रम प्रस्तोता सविना कार्की, मध्यनेपाल पर्यटन विकास समितिका अध्यक्ष हरिसिंह गुरुङ, युवा अभियन्ता सचिन तिमिल्सेना, व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठलगायतले आ–आफ्नो अनुभव सुनाउनुभएको थियो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले अभिमुखीकरणपश्चात् नगरपालिकाका लागि जागरुक युवा तयार भएको बताउनुभयो ।