भैरहवा (रुपन्देही), ३ माघ : भैरहवामा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई ६० रनले पराजित गरेको छ ।
खराब मौसमका कारण ५० ओभरको खेललाई ४५ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित ४५ ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन बनायो ।
कर्णालीका लागि दिनेश अधिकारीले ५९ बलमा दुई छक्का र छ चौकाको मद्दतमा अविजित ५६ रन बनाए । यस्तै दीपेन्द्र रावतले ४७ र हिमांशु शाहीले २५ रन बनाए ।
लुम्बिनीका लागि निर्मल गुरुङ र अभिषेक गौतमले समान तीन÷तीन विकेट लिए ।
एक सय ८५ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी एक सय २४ रनमा सीमित भयो । उसका लागि कृष्ण कार्कीले ४७ र मृनाल गुरुङले २२ रन बनाए भने अन्यले उल्लेख्य रन बनाउन सकेनन् ।
कर्णालीको जीतमा दिनेश कार्कीले तीन विकेट लिए भने दीपेन्द्र रावत र अनुज चनराले समान दुई÷दुई विकेट लिए । साथै दीवस पुनले एक विकेट लिए ।
—