‘सूर्य नेपाल वेस्टर्न ओपन’को उपाधि नगरकोटीलाई

खेलकुद समाचार

कास्की, ११ फागुन : पोखरामा यही फागुन ९ गतेदेखी सञ्चालन भएको ‘सूर्य नेपाल वेस्टर्न ओपन’ गल्फ प्रतियोगिताको उपाधि भुवन नगरकोटीले जित्नुभएको छ ।

पोखरा महानगरपालिका–१४ स्थित हिमालयन गल्फ कोर्समा अन्तिम दिन आज इभन पार ६९ को स्कोर निकाल्दा पूर्वनम्बर एक प्रो गल्फर भुवनले समग्रमा १० अन्डर एक सय ९७ को सानदार स्कोरमा करिअरको एघारौँ उपाधि जित्नुभएको हो । उहाँले बनाउनुभएको स्कोर हिमालयन गल्फ कोर्समा बनेको अहिलेसम्मकै उत्कृष्ट हो । भुवनले सन् २०१७ मा शिवराम श्रेष्ठले बनाएको नौ अन्डरको रेकर्ड तोड्न सफल हुनुभयो ।

भुवनले रवि खड्का र एमेच्योर सदभाव आचार्यलाई १२ स्ट्रोकले पछि पार्नुभयो । उपाधिसँगै भुवनले रु एक लाख लाख ४० हजार नगद पुरस्कार पाउनुभयो । रवि खड्का र एमेच्योर सदभाव आचार्यले समग्रमा दुई ओभर दुई सय नौको स्कोरमा दोस्रो स्थान बाँड्नुभयो । रवि र सद्भाव दुवैले आज एक ओभर ७० मा खेल सम्पन्न गर्नुभयो ।

रविले नगद रु ९६ हजार प्राप्त गर्दा एमेच्योरतर्फ सदभावले उपाधि जित्नुभयो । सद्भावले प्रज्वल गुरूङलाई १३ स्ट्रोकले हराउँदै उपाधि जित्नुभएको हो । दोस्रो हुनुभएका प्रज्वलले १५ ओभर दुई सय २२ स्कोर गर्नुभयो । धरानका निरज तामाङले आज इभन पार ६९ मा खेल सकाउँदा समग्रमा चार ओभर दुई सय ११ को स्कोरमा तृतीय हुनुभयो । उहाँले रु ७२ हजार पुरस्कार पाउनुभयो ।

भेट्रान प्रो दीपक मगरले समग्रमा छ ओभर दुई सय ११ सहित चौथो हुनुभयो । उहाँले रु ५९ हजार नगद पुरस्कार पाउनुभयो । प्रतियोगितामा ३५ प्रोफेसनल र १५ एमेच्योर खेलाडीको सहभागिता रहेको थियो । प्रोफेसनल गल्फ एशोसिएसनले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा कूल रु आठ लाख ४० हजार राशिको पुरस्कार रहेको थियो ।

प्रतियोगिताका विजयी खेलाडीलाई सूर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर विदुरराज अधिकारी, गण्डकी प्रदेश गल्फ सङ्घका अध्यक्ष इन्द्रधारा बिष्ट, कास्की जिल्ला गल्फ सङ्घका अध्यक्ष जीवराम गुरूङ, गण्डकी प्रदेश खेलकुद विकास परिषद्का बोर्ड सदस्य केशव पाठकलगायतले पुरस्कार वितरण गर्नुभयो ।

Facebook Comments Box