वाहिनीपति कप प्रतियोगिताको उपाधि सुनसरीलाई

खेलकुद

इनरुवा (सुनसरी), २५ फागुन: वाहिनीपति कप प्रतियोगिताको ट्रफी नम्बर ४ गण हेडक्वाटर सुनसरीले जितेको छ ।

पाँच विधाका प्रतियोगितामा नम्बर ४ गण हेड क्वाटर सुनसरीले तीन स्वर्ण र एक रजत गरी चार पदकसहित उपाधि जितेको हो । प्रतियोगिताका अधिकांश खेलमा ४ नम्बर गण सुनसरीका खेलाडीको दबदबा रहेको थियो । बराह वाहिनी मुख्यालय पकलीमा चार दिनसम्म चलेको प्रतियोगितामा नम्बर ४ गणले भलिबल, फुटबल र टेबल टेनिसतर्फ स्वर्ण जितेको छ ।

नम्बर ४ गण सुनसरीले अन्तिम प्रतियोगिता अन्तर्गत फूटबल पनि जितेको छ । फाइनलमा ४ नम्बर गण सुनसरीले ६ नम्बर गुल्म छिन्ताङ्ग धनकुटालाई १–० गोल अन्तरमा पराजित गर्दै स्वर्ण जितेको हो ।

बाहिनिपति कप प्रतियोगितातर्फ सशस्त्र प्रहरी बल नेपाल नम्बर ३७ रिजर्भ गण हेडक्वाटर पकली दोस्रो र ५ नम्बर गण हेडक्वाटर त्रियुगा उदयपुर तेस्रो भएको छ ।

कार्यक्रम समापनको अवसरमा प्र्रतियोगितातर्फ उत्कृष्ट नम्बर ४ गण हेडक्वाटर सुनसरीका गणपति समेनन्द बज्राचार्यलाई बराह वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेलले सम्मान गर्नुभयो । वाहिनीपति पोखरेलले प्रतियोगिताको ट्रफी विजेतासहितका टिम र खेलाडीलाई शिल्ड तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

बराह वाहिनी मुख्यालय पकलीमा आयोजित वाहिनीपति कप प्रतियोगितामा मातहतका पाँच वटा गण हेडक्वाटर, दुई वटा रिजर्भ गण र एक गुल्म टोलीको सहभागिता थियो । प्रतियोगितामा फुटबल, भलिबल, टेबल टेनिस, एथलेटिक्स र ब्याडमिन्टनका खेल खेलाइएको थियो । प्रतियोगितामा छ स्वर्ण, छ रजत र दुई कास्य गरी १४ वटा पदकका लागि एक सय २० खेलाडीले सहभागी भएका थिए ।

सशस्त्र प्रहरी बल, नेपालमा पेशागत गतिविधि चक्र सञ्चालनसम्बन्धी कार्ययोजना २०७९ अनुसार वाहिनीपति कपको आयोजना गरिएको बराह वाहिनी पकली सुनसरीले जनाएको छ ।

Facebook Comments Box