झापा, ५ कात्तिक : मेचीनगरको धुलाबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको आज भएको प्रतिस्पर्धामा मोरङको सम्राट स्पोर्टिङ क्लव विजयी भएको छ ।
रोलिङ क्लब धुलाबारीले आयोजना गरेको उक्त प्रतियोगितामा मोरङको सम्राट स्पोर्टिङ क्लब र भारतको सुकुना युनाइटेड फुटबल क्लबबीच प्रतिस्पर्धा भएको थियो ।
मोरङको सम्राट स्पोर्टिङ क्लबले पाहुना टोली सुकुनालाई ५–२ गोल अन्तरले हराएको थियो । खेलको छैटौँ र ३८औँ मिनेटमा सम्राट स्पोर्टिङका लागि उमेश कार्कीले गोल गरेका थिए । १२औँ मिनेटमा भुवन बस्नेतले एक गोल र अतिरिक्त समयमा दोर्जे तामाङ र अञ्जन ठकुरीले १/१ गोल गरे ।
सुकुना युनाइटेड फुटबल क्लबका लागि खेलको १३औँ मिनेटमा सौरभ विश्वास र ५२औँ मिनेटमा हेमराज भुजेलले १/१ गोल फर्काए । खेलको प्लेयर अफ द म्याच सम्राट स्पोर्टिङका उमेश कार्की घोषित भए ।
मङ्गलबारको खेल विराटनगरस्थित नेपाल प्रहरीको टिम र रेड हर्स एफसी इलामबीच हुने आयोजक रोलिङ क्लबका सचिव महेश खड्काले जानकारी दिए ।
यही कात्तिक ३ गते सुरु भएको प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते हुनेछ । प्रतियोगिताको विजेताले नगद रु तीन लाख र उपविजेताले नगद रु एक लाख ५० हजार, ट्रफी र मेडल पाउने आयोजक रोलिङ क्लबका अध्यक्ष नोभेम्बर नेम्वाङले जानकारी दिनुभयो । प्रतियोगितामा नेपाल र भारतका आठ टोली सहभागी छन् ।