नेपाल प्रिमियर लिग (एनपिएल) टोली चितवन राइनोजले जर्सी सार्वजनिक गरेको छ। सोमबार भरतपुरमा एक कार्यक्रम गरी जर्सी सार्वजनिक गरिएको हो।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक डा.हरिशचन्द्र न्यौपाने, चितवन राइनोज क्लबका अध्यक्ष आयुष न्यौपाने, टिम प्रशिक्षक उमेश पटयाल, मार्की खेलाडी कुशल मल्लसहितका खेलाडीहरूले जर्सी सार्वजनिक गरेका हुन्।
कार्यक्रममा एक सिंगे गैंडाको मस्कट, पञ्चे बाजासहित टोलीका खेलाडीहरू जर्सी लगाएर देखा परेका थिए।
चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको चितवन राइनोज टिमको ‘थिम सङ’ पनि सोमबार सार्वजनिक गरिएको थियो।
कार्यक्रममा बोल्दै भरतपुरकी मेयर दाहालले महानगरले खेल र खेलाडीलाई सदैव प्रोत्साहन गर्ने बताइन्।
दक्ष र क्षमतावान खेलाडी जन्माउन महानगरले खेल क्षेत्रमा लगानी बढाइरहेको उनले बताइन्।
‘हामीले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणलाई गति दिइरहेका छौं। यो रंगशाला निर्माण भएपछि दक्ष खेलाडीहरू उत्पादन हुनेक्रम अझै बढ्छ भन्ने आशा छ,’ दाहालले भनिन्, ‘हामी भरतपुरलाई खेलकुदको हब बनाउन चाहन्छौं।’
उनले एनपिएलमा महानगरले टिम चितवन राइनोजलाई प्रोत्साहन गर्ने बताइन्। टिम चितवन राइनोजका मार्की खेलाडी मल्लले खेल जित्नका लागि सकेको प्रयास गर्ने बताए।
चितवन राइनोज क्लब प्रालिका अध्यक्ष न्यौपानेले टिमले क्षमतावान खेलाडीहरूलाई समावेश गरेकाले खेल जित्ने दाबी गरे। ‘चितवन राइनोज गैंडा जत्तिकै बलियो छ। हामी पहिलो सिजन जितेर देखाउनेछौं,’ उनले भने।
यो टिममा कुशल मल्ल, अमर सिंह रौतेला, विपिन रावल, दिपक बोहरा, दिपेश श्रेष्ठ, गौतम केसी, कमल सिंह ऐरी, रञ्जित कुमार, रिजन ढकाल, सन्तोष कार्की, शरद भेस्वाकर छन्। टिमले विदेशी खेलाडीहरु रवि बोपरा, मर्साँ डी लङ्गा, ल्यूक मार्टिन बेनकेन्स्टाइन, हसन इसाखिल, जान निकोल लोफ्टी–इटनलाई पनि समावेश गरेको छ।