गोरखा, १९ मङ्सिरः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेलकुद क्षेत्रको विकास प्रदेश सरकारको प्राथमिकता भएको बताउनुभएको छ । गोरखाको सिरानचोक गाउँपालिकामा आजदेखि सुरुभएको पाँचौँ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशलाई खेलकुदको हबका रूपमा विकास गर्न सकिने भएकाले सोहीअनुसार प्रदेश सरकारले सोहीअनुसार काम गर्ने बताउनुभयो । ‘‘गण्डकी प्रदेशलाई खेल क्षेत्रको हबका रूपमा विकास गर्न वातावरणीय हिसाबमा पनि उत्तिकै राम्रो सम्भावना छ”, उहाँले भन्नुभयो, “प्रदेश सरकारले सोहीअनुरूप खेल क्षेत्रको विकासलाई अघि बढाइरहेका छौँ । यस क्षेत्रको विकासका लागि आवश्यक बजेट विनियोजन गरेर सरकारले काम गरिरहेको छ ।”
मुख्यमन्त्री पाण्डेले खेल क्षेत्रको विकासका लागि ‘एक पालिका, एक रङ्शाला’ निर्माण गर्नुपर्ने भन्दै त्यसमा प्रदेश सरकारले आवश्यक सहयोग गर्नेसमेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।