त्रिशूली (नुवाकोट), ५ माघः यहाँ नवौँ झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिता आजदेखि सुरु आयोजना गरिएको छ । आज नुवाकोटको बेलकोटगढी–५ को कार्यालयले यहाँ आयोजना गरेको प्रतियोगिता बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले उद्घाटन गर्नुभयो ।
त्यस अवसरमा मुख्यमन्त्री तामाङले दौड प्रतियोगितामार्फत मानिसलाई स्वस्थ्य राख्न र गाउँगाउँबाट खेलाडी (धावक) उत्पादन गर्न सकिने बताउनुभयो । “हजुरबा, बाआमा समूहबाट प्रतिनिधित्व गर्दै दौडिँदा सिङ्गो गाउँ नै प्रतियोगितामा सहभागी भएको महुसस भएको छ । यस प्रतिस्पर्धामार्फत ज्येष्ठ नागरिक र महिला वर्गलाई घरको चुलोचौकाबाट बाहिर ल्याउन सकिएको छ । यसको माध्यमबाट गाउँगाउँबाट धावक उत्पादन गर्न सघाउ पुग्नेछ”, उहाँले भन्नुभयो ।
झिल्टुङ क्रसकन्ट्रीमा विभिन्न दश विधामा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएका राष्ट्रियस्तरका धावकहरूदेखि स्थानीय विद्यालयका विद्यार्थी, हजुरबा, बाआमा समूहबाट प्रतिनिधित्व गर्दै करिब तीन सय खेलाडीले सहभागिता जनाएका थिए ।
प्रतियोगिताअन्तर्गत स्थानीय पुरुष १३ दशमलव पाँच किमी, आमा समूहका सदस्य चार दशमलव पाँच किमी, हजुरबा र बा समूहका सदस्यबीच चार दशमलव पाँच किमी दौड प्रतिस्पर्धा आयोजना गरियो । यस्तै, १३ दशमलव पाँच किमी खुला महिला र पुरुष प्रतिस्पर्धा, १३ दशमलव पाँच किमी ४५ वर्षमाथिका पुरुष भेट्रान प्रतिस्पर्धा, चार दशमलव पाँच किमी खुला जुनियर छात्र–छात्र प्रतिस्पर्धा, चार दशमलव पाँच किमी स्थानीय विद्यालयका छात्र–छात्रा प्रतिस्पर्धा गरियो ।
उत्कृष्ट भएका खेलाडीलाई पुरस्कार प्रदान गर्दै बेलकोटगढी नगरपालिकाको प्रमुख जगतबहादुर गुरुङ र उपप्रमुख शिवप्रसाद दाहालले वडामार्फत सञ्चालन हुँदै आएको प्रतियोगिताको आगामी संस्करण नगरपालिकामार्फत स्थानीय पर्वका रूरुपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो । त्यसका लागि वार्षिक नीति तथा कार्यक्रममा बजेटको व्यवस्था गराई प्रतियोगिताको विधा र पुरस्कार राशिमा वृद्धि गर्न आयोजक बेलकोटगढी–५ का वडाअध्यक्ष मदन भुजेलले ध्यानाकर्षण गराउनुभयो ।
झिल्टुङको पहिचान झल्काउन र खेल पर्यटन वृद्धिका लागि पर्यटन व्यवसायी मोहन नेपालको अगुवाइमा सुरु भएको प्रतियोगिता अहिले राष्ट्रियस्तरको आकर्षण बन्दै गएको छ । प्रतियोगिता सञ्चालनको सम्पूर्ण जिम्मेवारी एथलेटिक्स परिवार नेपालले गर्दै आएको छ । सो संस्थाका अध्यक्ष राजन खत्रीले प्रतियोगिता राष्ट्रियस्तरका खेलाडी उत्पादन र क्षमता विकासमा प्रभावकारी बन्दै गएको बताउनुभयो ।