मोरङ, २० माघः विराटनगरमा भएको कोशी प्रदेशस्तरीय ‘आइटिएफ’ तेक्वान्दो प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ ।
कोशी खेलकुद विकास बोर्डको संयोजनमा प्रदेश ‘आइटिएफ’ तेक्वान्दो सङ्घले आयोजना गरेको प्रतियोगितामा नौ स्वर्ण, दुई रजत र दुई कास्य पदकसहित सुनसरी प्रथम हुँदै उपाधि जितेको हो ।
यसैगरी, मोरङ छ स्वर्ण, तीन रजत, पाँच कास्य पदकसहित द्वितीय र झापा चार स्वर्ण, पाँच रजत र छ कास्य पदकका साथ तृतीय भएको छ ।
प्रतियोगिताको पुरुषतर्फ मोरङका मञ्जित राजवंशी र महिलातर्फ सुनसरीकी एलिजा राई उत्कृष्ट खेलाडी भएका छन् ।
खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम), बोर्डकी सदस्य थल गुरुङ, विराटनगर महानगरपालिका–४ का वडाध्यक्ष जितेन थापा, मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुरज श्रेष्ठ, प्रदेश आइटिएफ तेक्वान्दो सङ्घका संस्थापक अध्यक्ष तथा नेपाल अन्तरराष्ट्रिय तेक्वान्दो महासङ्घका अध्यक्ष प्रवीणकुमार कार्की, सङ्घका उपाध्यक्षद्वय प्रभुनारायण शिवाकोटी र चतुरलाल चौधरीलगायतले प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।
दुई दिनसम्म सञ्चालित प्रतियोगितामा एकल पुरुष÷महिला ‘प्याटन’ र एकल पुरुष÷महिला ‘स्पायरिङ’का ‘इभेन्ट’मा मोरङ, सुनसरी, झापा, इलाम पाँचथर, ताप्लेजुङ, भोजपुर, उदयपुरका गरी एक सय १७ खेलाडीको सहभागिता रहेको थियो ।