सिरहा, ३ फागुन : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद मनोरञ्नमात्र नभएर समृद्धिको आधार पनि भएको बताउनुभएको छ ।
सिरहाको लहानस्थित दोस्रो ‘डे एण्ड नाइट उपमेयर कप टी–२० क्रिकेट’ प्रतियोगिताको आज उद्घाटन गर्दै मन्त्री चौधरीले खेल क्षेत्रका माध्यमबाट राष्ट्रलाई समृद्ध बनाउनुपर्ने बताउनुभयो । “विकसित देश खेलकै माध्यमबाट विश्वमा आफ्नो पहिचान स्थापित गर्न सक्षम भएका छन् । नेपाललाई पनि खेल क्षेत्रका माध्यमबाट समृद्ध बनाउन सकिन्छ”, मन्त्री चौधरीले भन्नुभयो, “त्यसका लागि खेलकुदको पूर्वाधारमा लगानी, खेलाडीलाई प्रोत्साहन र सकारात्मक सोचको आवश्यकता छ ।”
आफ्नो कार्यकालमा खेलकुद क्षेत्रको विकासमा फड्को मार्ने उल्लेख गर्दै मन्त्री चौधरीले अब आउने बजेटमा लहानको खेल विकासका योजना समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोले लागुऔषधको कुलतबाट युवालाई जोगाउन खेलकुद एक प्रभावकारी माध्यम भएको बताउनुभयो । नगरपालिकाले खेलकुद प्रवर्द्धनका लागि विशेष बजेट विनियोजन गर्ने उहाँको भनाइ थियो ।
लहानको पशुपति माविको खेलमैदानमा आजदेखि सुरु भएको नगरस्तरीय क्रिकेट प्रतियोगिताको मन्त्री चौधरी र उपप्रमुख महतोले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो ।