धरान (सुनसरी), ८ फागुन : कोशी प्रदेश प्रिमियर लिगको उपाधि गाईघाट फुटबल क्लबले जितेको छ । आज धरान रङ्गशालामा भएको खेलमा पाँचथरलाई ११–० फराकिलो गोलअन्तरले पराजित गर्दै गाईघाट उपाधि जित्न सफल भएको हो ।
कोशी प्रदेश प्रिमियर लिगमा ११ जिल्लालाई चार समूहमा विभाजित गरी समूह चरण र फाइनल चरण गरी खेलाइएको लिगमा उदयपुरको गाईघाट फुटबल क्लब लिग च्याम्पियन बन्न सफल भएको हो ।
उपाधिसँगै गाईघाटले नगद रु दुई लाख पुरस्कार प्राप्त गरेको छ । दोस्रो भएको देउराली क्लबले रु एक लाख ५० हजार, तेस्रो बुइपाले रु एक लाख २५ हजार र चौथो भएको पाँचथरले रु एक लाख पुरस्कार प्राप्त गरेको छ ।
गाईघाट फुटबल क्लबका क्याप्टेन युवराज थापा प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनलाई नगद रु ५० हजार पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताको उत्कृष्ट गोलकिपर गाईघाटकै निमछिरिङ लामा घोषित भए ।
उत्कृष्ट स्ट्राइकर गाईघाटकै प्रवीन राई, उत्कृष्ट कोच गाईघाटका किरणकुमार कार्की घोषित भए । त्यसैगरी उत्कृष्ट डिफेन्स बुइपाका रामसुर राई घोषित भए भने बेष्ट मिडफिल्डर देउरालीका विपिन लिम्बू घोषित भए । उनीहरूलाई जनही रु १५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
उपाधिसँगै राष्ट्रिय लिगको छनोट प्रतियोगिताको रूपमा रहेको अन्तरप्रदेश लिगमा गाईघाट र धनकुटाको देउराली युथ क्लब अन्तरप्रदेश लिगमा छनोट भएको कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले बताउनुभयो ।