काठमाडौँ, १७ फागुन : तेस्रो राष्ट्रिय डोरीतान प्रतियोगिताको उपाधी नेपाल प्रहरीले जितेको छ । नेपाल डोरीतान सङ्घको आयोजनामा भक्तपुरको एसओएस स्कुलमा दुई दिनसम्म सञ्चालन भएको पुरुष तथा महिला दुबैतर्फ नेपाल प्रहरीको टोली पहिलो भएको हो ।
पुरुषतर्फ प्रथम भएको प्रहरी टोलीले रु एक लाख नगद, मेडल र प्रमाणपत्र तथा महिलातर्फ रु ६० हजार नगद, मेडल र प्रमाणपत्र हात पारेको छ । यस्तै, पुरुषतर्फ दोस्रो हुने नेपाली सेनाको टोलीले रु ६० हजार, मेडल र प्रमाणपत्र तथा महिलातर्फ पनि दोस्रो भएको नेपाली सेनाको टोलीले रु ४० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो ।
प्रतियोगितामा पुरुषतर्फ सातै प्रदेशसहित तीन विभागीय टोली तथा महिलातर्फ पाँच प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहेको डोरीतान प्रतियोगिताका अन्तर्राष्ट्रिय प्रतिनिधी आनन्दकुमार यादवले जानकारी दिए ।
शुक्रबार प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गरेका थिए । प्रतियोगिताले नेपालमा डोरीतान खेलको विकास तथा खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न मद्दत पुग्ने अपेक्षा गरिएको सङ्घका अध्यक्ष भवानीप्रसाद पौडेलले बताए ।