प्रधानमन्त्री कप क्रिकेटः कोशी ९१ रनमै समेटिँदा कर्णालीको फराकिलो जित

खेलकुद

भैरहवा (रूपन्देही), ५ चैतः कर्णाली प्रदेशले कोशी प्रदेशलाई १२७ रनको अन्तरले पराजित गरेको छ । विशाल लक्ष्य पछ्याएको कोशीका सुरुआती ब्याट्सम्यानहरूले केही टिकेर खेल्न खोजे पनि उनीहरू पेभेलियन फर्केसँगै कोशीको ब्याटिङ ‘लाइनअप’ ध्वस्त हुन पुग्यो । दुई सय १९ रनको लक्ष्यसहित मैदान पसेको कोशी ३५ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै ९१ रनमै अलआउट हुन पुग्यो । कोशीका लागि सबैभन्दा बढी २५ रन चिराग साहले बनाए ।

यस्तै, साकिब हकले १३ रन र अङ्कित सुवेदीले १० रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्क जोडन् सकेनन् । कोशीलाई सस्तोमै समेट्न सुनिल धमला र दीपेन्द्र रावतले तीन÷तीन विकेट बाँड्नुभयो । यस्तै, दिवन पुन दुई विकेट र अनुज चुनाराले एक विकेट लिए ।

यसअघि रूपन्देहीकै एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा टस जितर ब्याटिङ रोजेको कर्णालीले नौ विकेट गुमाउँदै २१८ रन बनाएको थियो । कर्णालीका लागि अर्जुन घर्तीले ९५ बलमा ११ चौका र दुई छक्का प्रहार गर्दै अविजित ८८ रन बनाए । यस्तै, हिमांशु शाहीले ४६, निश्चल रावलले २० र प्रकाश जैसीले १८ रन बनाए ।

बलिङमा कोशी प्रदेशका विपिन महतोले तीन विकेट लिए भने दीपेश कँडेल र प्रकाश कार्कीले समान दुई÷दुई विकेट लिए । श्रवण किस्कु र सुजन थपलियाको नाममा एक÷एक विकेट रह्यो । यससँगै कर्णाली प्रदेशले अङ्कतालिकामा थप दुई अङ्क जोडेको छ । पाँच खेल खेलेको कर्णाली प्रदेश तीनमा हार र दुईमा जित निकाल्दै चार अङ्क ल्याएको छभने छ खेल खेलेको कोशी पाँचमा पराजित, एकमा जितका साथ दुई अङ्क ल्याएर प्रतियोगिताको अङ्कतालिकामा पुछारमा पुगेको छ । अङ्कतालिकामा शीर्ष दुई स्थानमा रहने दुई टोलीबीच फाइनल खेल हुनेछ ।

Facebook Comments Box