विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जित्ने दाहालको लक्ष्य

खेलकुद समाचार

काठमाडौं, १६ कार्तिक ।नेपाललाई स्वर्ण पदक दिलाउने लक्ष्य बोकेर शारीरिक सुगठनका नेपाली च्याम्पियन राम दाहाल संयुक्त अरब इमिरेट्समा आयोजना हुने विश्व शारीरिक सुगठन च्याम्पियनसिप प्रतियोगितामा भाग लिन जानुभएको छ । उहाँलाई आज बिर्तामोड उद्योग वाणिज्य सङ्घले एक कार्यक्रमबीच सफलताको शुभकामनासहित बिदाइ गरेको छ ।

यही कात्तिक २१ देखि २४ गतेसम्म संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजना हुने विश्व च्याम्पियनसिप प्रतियोगितामा नेपाललगायत ९० मुलुकका खेलाडीले प्रतिष्पर्धा गर्दैछन् । दुबई जाने नेपाली टोलीमा दुई जना खेलाडीसहित सात जना रहनु हुनेछ । “मुलुकलाई स्वर्ण पदक दिलाउने लक्ष्य बोकेर दुबई जाँदैछु”, रासससँगको कुराकानीमा उहाँले भन्नुभयो ।

दुबईमा उहाँले ६० केजी तौल समूहबाट प्रतिष्पर्धा गर्दै हुनुहुन्छ । सत्तरी केजी तौल समूहबाट काठमाडौँका मरिचमान लामाले सो प्रतियोगितामा भाग लिनुहुने उहाँले जानकारी दिनुभयो । झापाको विर्तामोड–४ निवासी दाहालले बडी ग्यारेज नामक फिटनेस सेन्टर सञ्चालन गर्दै आउनुभएको छ ।

विर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराईले विश्वस्तरीय विभिन्न प्रतियोगितामा पदक जितेर नेपालको प्रतिष्ठा उँचो राख्दै आउनुभएको दाहाललाई आगामी प्रतियोगितामा सफलताका लागि सम्पूर्ण नेपालीको आशिर्वाद रहेको बताउनुभयो ।

सन् २०१३ मा हङ्कङमा भएको एशियन खेलकूद प्रतियोगितामा शारीरिक सुगठनको ६० केजी तौल समूहमा रजतपदक जितेर उहाँले अन्तरराष्ट्रिय ख्यातिको शुरुआत गर्नुभएको थियो । उहाँले सन् २०१५ र सन् २०१८ मा भएको साफ खेलकूदमा ६० केजी तौल समूहमा स्वर्णपदक जित्नुभएको थियो । देशभित्र आयोजना हुने गरेका अधिकांश राष्ट्रिय प्रतियोगितामा उहाँ पहिलो हुँदै आउनुभएको छ ।

Facebook Comments Box