१३औँ साग : महिला फुटबलमा भारतलाई स्वर्ण

खेलकुद मुख्य समाचार

काठमाडौं, २३ मंसिर । १३औँ दक्षिण एशियाली खेलकूद(साग)अन्तर्गतको पोखरामा सम्पन्न महिला फुटबलमा भारतले स्वर्ण पदक जितेको छ । पोखरा रङ्गशालास्थित फुटबल मैदानमा आज सम्पन्न फुटबलको फाइनलमा आयोजक नेपाललाई २–० गोलअन्तरले पराजित गरी डिफेन्डिङ च्याम्पियन भारतले उपाधि रक्षा गरेको हो ।

नेपाललाई पराजित गर्ने क्रममा भारतका एनजी बालादेवीले खेलको पहिलो हाफको १८औँ तथा दोस्रो हापको ५५औँ मिनेटमा एक÷एक गोल गरिन् । लिग चरणको खेलमा समेत नेपाललाई भारतले उनकै गोलको मद्दतले १–० अन्तरले पराजित गरेको थियो । महिला फुटबलमा अन्तर्राष्ट्रिय उपाधिबाट बिमुख हुँदै आएको नेपाल घरेलु मैदानमा स्वर्ण जित्ने ऐतिहासिक अवसरको सदुपयोग गर्न नसकेपछि रजत पदकमा चित्त बुझाउन बाध्य बन्यो ।

अत्यन्त प्रतिस्पर्धात्मक फाइनल खेलमा नेपाली खेलाडीले केही गोलका मौका पाए पनि सदुपयोग गर्न सकेनन् । रङ्गशालामा उपस्थित दर्शकले खेलको शूरुआतदेखि अन्तिमसम्म निरन्तर नेपाली टोलीको समर्थनमा नारा लगाउँदै हौसला प्रदान गरेपनि टोलीले गोलको खाता खोल्न सकेन । खेलपछि नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । खेल लगत्तै उहाँले टोलीको हारको सम्पूर्ण जिम्मेवारी आफ्नो भएको बताउँदै राजीनामा दिने बताउनुभएको हो ।

भारतीय टोलीका प्रशिक्षक मेयामल रकीले उपाधि रक्षा गरेर स्वर्ण जित्न पाउँदा खुशी भएको बताउँदै नेपालले पछिल्ला वर्षमा राम्रो फुटबल खेल पस्कदै गोल अन्तरलाई कम गर्दैै लगेको प्रतिक्रिया दिनुभयो । विजेता खेलाडीलाई युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतले ट्रफी तथा मेडल प्रदान गर्नुभएको थियो ।

भारतसँगको खेलपछि नेपाली टोलीका खेलाडीद्वय निरु थापा र मनमाया लिम्बूले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । उनीहरुलाई समापन समारोहमा सम्मान गरिएको थिया भने राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङले दुवै जनालाई आधा तोला सुन प्रदान गरेर सम्मान गर्ने घोषणा गर्नुभयो ।

बक्सिङमा २० वर्षपछि नेपाललाई स्वर्ण
१३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत बक्सिङ खेलमा नेपालले २० वर्षपछि स्वर्ण पदक जितेको छ ।

सातदोबाटोमा आज भएको खेलमा मीनु गुरुङले नेपाललाई स्वर्ण पदक दिलाउनुभएको हो । उहाँले महिला ५४ केजी तौल समूहमा भारतीय खेलाडीलाई अङ्कका आधारमा पराजित गर्दै स्वर्ण जित्नुभएको हो । यसअघि नेपालले सन् १९९९ काठमाडौँमा भएको आठौँ सागमा बक्सिङतर्फ दुईवटा स्वर्ण जितेको थियो ।

सन् १९९९ मा नेपालका लागि प्रकाश थापा मगर र रामचन्द्र थापा मगरले स्वर्ण जित्नुभएको थियो । त्यतिबेला नेपालले बक्सिङमा दुईसहित ३१ वटा स्वर्णपदक जितेको थियो । त्यसैगरी महिला ४८ केजी तौलसमूहमा ललिता महर्जनले रजत पदक हात पार्नुभयो । उहाँ भारतकी श्रीनिभासन कालाइभानीसँग पराजित भएपछि रजतपदक हात पार्नुभएको हो । योसँगै १३औँ सागमा नेपालको स्वर्ण पदक ४६ पुगेको छ ।

१३औँ साग : जुडोमा नेपालकी पुनम श्रेष्ठलाई स्वर्ण
जुडोकी पुनम श्रेष्ठले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपाललाई स्वर्ण पदक दिलाउनुभएको छ । लखनखेलस्थित आर्मीको कभर्डहलमा आज भएको महिला ७८ केजीमुनि तौल समूहमा उहाँले नेपाललाई स्वर्णपदक दिलाउनुभएको हो ।

पुनमले बङ्गलादेशकी फरिना खानोमलाई पराजित गर्नुभयो । यसअघि उहाँले भारतकी नवनीत कौरलाई पराजित गर्नुभएको थियो । यस्तै महिला ७० केजी तौल समूहमा नेपालकी विनिता मगरले रजत जित्नुभयो । यस स्पर्धामा भारतले स्वर्ण र श्रीलङ्काले कास्यपदक हात पारेको छ । यसैगरी पुरुष ९० केजी तौल समूहमा नेपालका श्रीराम मकाजूले कास्य पदक हात पार्नुभयो । सोही स्पर्धामा भारतले स्वर्णपदक जित्दा पाकिस्तानले रजत जितेको छ ।

Facebook Comments Box