काठमाडौं, २५ मंसिर । नेपालले ५१ स्वर्ण पदकसहित १३औँ दक्षिण एशियाली खेलकूद (साग)को बिदाइ गरेको छ । सागको ३५ वर्षे इतिहासमा नेपालले यसपटक कीर्तिमानी प्रदर्शन गरेको हो । नेपालले १३औँ सागमा हालसम्मकै सर्वाधिक पदक जितेको छ । यसअघि सन् १९९९ मा काठमाडौँमा सम्पन्न आठौँ सागमा नेपालले ३१ स्वर्ण जितेको थियो ।
तेह्रौँ सागमा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रह्यो । नेपालले ५१ स्वर्ण, ६० रजत तथा ९५ कास्यसहित कूल २०५ पदक जित्यो । नेपालले हिजो बक्सिङ र पुरुष फुटबलमा स्वर्ण जितेको थियो । पुरुष फुटबलमा भूटानलाई २–१ गोलले हराउँदै स्वर्ण जितेको थियो भने बक्सिङमा सनिल शाहीले स्वर्ण जितेका थिए । सागमा समावेश २६ खेलमध्ये नेपालले २५ खेलमा पदक जितेको छ । नेपाल सुटिङमा भने पदकविहीन रह्यो ।
नेपालले आठौँ साग जस्तै यसपटक तेक्वान्दो र करातेमा सफलता प्राप्त गर्यो । तेक्वान्दोबाट सर्वाधिक १२ तथा करातेबाट १० स्वर्ण पदक प्राप्त भयो । बक्सिङमा नेपालले दुई दशकपछि स्वर्ण पदक पायो । बक्सिङमा नेपालले तीन स्वर्ण जितेको छ । तेह्रौँ सागमा पौडीकी गौरिका सिंह सर्वाधिक सफल खेलाडी बनिन् । उनले सागको एउटै संस्करणमा चार स्वर्ण जित्दै कीर्तिमान बनाइन् ।
यस्तै करातेका मण्डेकाजी श्रेष्ठ र आयशा शाक्यले एउटै संस्करणमा दुई स्वर्ण कीर्तिमान बनाए । महिला क्रिकेटतर्फ अञ्जली चन्दले दुई दशमलव एक ओभर बलिङ गर्दै बिना कुनै रन छ विकेट लिएर विश्व कीर्तिमान बनाइन् । तेह्रौँ सागका खेल काठमाडौँ, ललितपुर, पोखरा र जनकपुरमा खेलाइएका थियो ।
भारत १७४ स्वर्ण, ९३ रजत र ४५ कास्यसहित कूल ३१२ पदक जित्दै पदक तालिकाको शीर्ष स्थानमा रह्यो । यस्तै श्रीलङ्का ४० स्वर्ण, ८३ रजत र १२८ कास्यसहित कूल २५१ पदक जित्दै तेस्रो, पाकिस्तान ३१ स्वर्ण, ४१ रजत र ५९ कास्यसहित कूल १३१ जितेर चौथो, बङ्गलादेश १९ स्वर्ण, ३२ रजत र ८७ कास्यसहित कूल १३८ पदक जितेर पाँचौँ, माल्दिभ्स एक स्वर्ण र चार कास्य गरी कूल पाँच पदक जित्दै छैटौँ तथा भूटान सात रजत र १३ कास्यसहित कूल २० पदक जित्दै साग पदक तालिकाको अन्तिम स्थानमा रह्यो ।
साग पदक तालिका
देश स्वर्ण कास्य रजत जम्मा
भारत १७४ ९३ ४५ ३१२
नेपाल ५१ ६० ९५ २०६
श्रीलङ्का ४० ८३ १२८ २५१
पाकिस्तान ३१ ४१ ५९ १३१
बङ्गलादेश १९ ३२ ८७ १३८
माल्दिभ्स १ ० ४ ५
भूटान ० ७ १३ २०
चौधौँ साग पाकिस्तानमा
साग १४औँ संस्करण पाकिस्तानले आयोजना गर्नेछ । चौधौँ साग आयोजनाको जिम्मेवारी पाएको पाकिस्तानलाई आज झण्डा हस्तान्तरण गरिएको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले पाकिस्तान ओलम्पिक कमिटीका अध्यक्ष सइद आरिफ हसनलाई १४औँ साग आयोजनाको झण्डा हस्तान्तरण गर्नुभएको थियो । दक्षिण एशियाली ओलम्पिक काउन्सिलको बैठकले आगामी संस्करणको साग आयोजना गर्ने जिम्मेवारी पाकिस्तानलाई दिने निर्णय गरेको थियो । पाकिस्तानले आगामी छ महिनाभित्र १४औँ सागको मिति तथा स्थान तय गर्ने जनाएको छ ।
उपराष्ट्रपतिद्वारा बधाई
काठमाडौं, २५ मंसिर । उपराष्ट्रपति नन्दबहादुर पुनले १३औँ दक्षिण एशियाली खेलकूद (साग) भव्य रुपमा सम्पन्न भएकामा खुशी व्यक्त गर्दै नेपालका तर्फबाट पदक जित्ने खेलाडीलाई बधाई दिनुभएको छ । उपराष्ट्रपतिले आज बधाई सन्देश दिँदै दक्षिण एशिया र विश्व जगत्मा नेपालको शिर उँचो हुने गरी सागको १३औँ संस्करण ऐतिहासिक रुपमा सम्पन्न गरेकामा नेपाल सरकार, युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद्, सुरक्षा निकाय, कर्मचारी, खेलकूद पदाधिकारी र सम्बद्ध सबैमा धन्यवाद ज्ञापन गर्नुभएको हो ।
‘मङ्सिर १५ गते दशरथ रङ्गशालामा भव्य समारोहबीच औपचारिक समुद्घाटन भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) आज पुरुष फुटबलमा भूटानलाई पराजित गर्दै नेपालले स्वर्ण पदक जितेसँगै समापन भएको छ । दक्षिण एशियाको सबैभन्दा ठूलो खेलकूद प्रतियोगिता सागको १३औं संस्करण भव्य रुपमा सम्पन्न भएकामा अत्यन्त हर्षित छु’, उपराष्ट्रपतिको बधाई सन्देशमा भनिएको छ ।
उहाँले नेपालका तर्फबाट छनौट भएर देशको झण्डा फहराउँदै प्रतियोगितामा भाग सम्पूर्ण खेलाडीलाई पनि बधाईसहित धन्यवाद दिनुभएको छ । उपराष्ट्रपति पुनले १३औँ सागको समापन १४औँ सागको तयारी पनि हो भन्दै पाकिस्तानमा हुने सागको आगामी संस्करणमा नयाँ कीर्तिमानी सफलता हासिल गर्ने लक्ष्यका साथ नेपाल सरकार र सम्बन्धित निकाय तयारीमा जुट्ने तथा सागमा पदक विजेता खेलाडीलाई सरकारले उचित सम्मान गर्ने विश्वास समेत व्यक्त गर्नुभएको छ ।
साग सफल बनाउन योगदान दिने सबैमा नेपालबाट धन्यवाद
नेपाल सरकारले तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता(साग) मा सहभागी सम्पूर्ण खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अधिकृतलगायत सबैमा हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
सरकारले साग सम्पन्न गर्न योगदान दिने मूल आयोजक समिति, नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकूद परिषद् तथा सम्पूर्ण नेपाली जनताका साथै काठमाडौँ, पोखरा र जनकपुरवासीप्रति कृतज्ञता व्यक्त गरेको छ ।
हिजो साँझ साग समापन समारोह सम्पन्न भएको घोषणा गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले सागले छिमेकीहरुबीचको मित्रता अझ वृद्धि भएको तथा क्षेत्रीय एकतामा योगदान दिएको बताउनुभयो । “आगामी दिनमा खेलकूद नेपाललाई चिनाउने आधार पनि बनेको छ”, रक्षामन्त्रीले भन्नुभयो ।
सो अवसरमा युवा तथा खेलकूदमन्त्री तथा मूल आयोजक समितिका अध्यक्ष जगतबहादुर विश्वकर्माले खेलाडीहरुको खेल जीवन अझ उज्यालो होस् भन्दै उनीहरुको सफलताको कामना गर्नुभयो । राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले खेलाडीहरुले राष्ट्रको शिर उँचो बनाएकामा अभिनन्दन गर्दै नेपाल र नेपालीले चाहे भने जस्तोसुकै प्रतिकूल अवस्थामा पनि आफ्नो लक्ष्य र योजना सफल बनाउन सक्ने उदाहरण साग भएको विचार राख्नुभयो । उहाँले प्रधानमन्त्रीले खेलाडीहरुसँग खुशी साटासाट गर्ने र केही प्याकेज घोषणा गर्ने जानकारी पनि दिनुभयो ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अनुशासितरुपमा उत्कृष्ट खेल प्रदर्शन गरी खेलाडीले एकता र मित्रता प्रदर्शन गरेको बताउँदै खेल सम्पन्न गर्ने काठमाडौँ, पोखरा र जनकपुर नगर तथा नगरवासीलाई धन्यवाद दिनुभयो ।