काठमाडौं, ३० मंसिर । यहाँ भएको ‘बाबा टिभी फारवेष्ट फुटसल कप प्रतियोगिता‘को उपाधि ग्रीन गोदावरीले जितेको छ ।
हिजो भएको फाइनल खेलमा आयोजक फारवेष्ट पशुपति युवा क्लबलाई ९—४ गोलले पराजित गर्दै ग्रिन गोदावरी च्यम्पियन बनेको हो ।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगिताको उपाधि ग्रीन गोदावरीलाई जिताउन युगेश श्रेष्ठले ह्याट्रिकसहित पाँच गोल गरे । सुमन कार्कीले दुई गोल र ड्यानिल खड्का तथा कृष्ण तामाङले एकएक गोल गरे ।
फारवेष्टका लागि कुबेर सिंह र भीष्म भाटले दुईदुई गोल फर्काएका थिए । विजेता भएसँगै ग्रीन गोदावरीले रु ५० हजारसहित प्रमाणपत्र र ट्रफी पाएको छ । उपविजेता फारवेष्ट पश्ुपतिले रु २५ हजारसहित प्रमाणपत्र र ट्रफीमा चित्त बुझाएको छ ।
प्रतियोगिताका विजयी खेलाडीलाई बाबा टिभी नेटका निर्देशक रवि खड्का, सुदूरपश्चिम–११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमाल, स्टार सिटी क्लबका अध्यक्ष कुमार शाहीलगायतले पुरस्कार प्रदान गर्नुभयो । फारवेष्ट फुटसल प्रतियोगिताका संयोजक निलेश विष्टले समापन समारोहमा आगामी वर्ष हुने प्रतियोगिताको दोस्रो संस्करणको विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार पुरस्कार पाउने घोषणा गर्नुभयो । धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा कोर्टमा पछिल्ला महिनामा नियमित रुपमा फुटसल प्रतियोगिता भइरहेका छन् ।